Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 समुन्द्रसंगको पहिलो भेट
[VIEWED 6338 TIMES]
SAVE! for ease of future access.
Posted on 07-24-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१९९२को अगष्ट २१मा हो मैले पहिलो चोटि समुन्द्र देखेको।

पेइचिङ भाषा अध्ययन संस्थानमा एक वर्ष चिनियाँ भाषा पढिसकेपछिको गर्मी बिदा थियो। धेरैजसो साथीहरु नेपाल फर्किएका थिए गर्मी बिदामा। गर्मी बिदा सकिन आँटिसकेको भएपनि म र सबिन(नाम परीवर्तित)ले यो यात्राको योजना बनाएका थियौं।

त्यो दिनको बिहानको खाजापछि हामीले पेइचिङबाट 'पेइताइख' तिरको रेल समातेका थियौं। पेइताइख पेइचिङनजिकैको नामी समुन्द्री किनार र लोकप्रिय पर्यटकीय गन्तब्य हो। हाम्रो योजना धेरै लामो पनि थिएन, एक रात बस्ने र भोलिपल्ट साँझ पर्दासम्म पेइचिङ आइपुग्ने सूर थियो हाम्रो।

रेलमा हल्का भिड थियो तर हामीले सीट भेट्टाएका थियौं। 'लोकल' रेलको काठे सीटमा मौन भएर बसिरहेका थियौं हामी। हाम्रो सामुन्नेमा एउटी वृद्ध महिला र पाँच-सात वर्षका दुई बच्चीहरु थिए, शायद तीनका नातीनीहरु हुनुपर्छ। एउटी अलिक मोटी र पोक्चे अनुहार भएकी थिई, अर्की दुब्ली र मसिनो अनुहार भएकी थिई। दुबै बच्चीहरु सुन्दर र मायालाग्दा थिए। उनीहरु एकआपसमा कुरा गर्दै हाँस्दै थिए र घरीघरी आफ्नी हजुरआमासंग पनि बिभिन्न कुराहरु सोधिरहेका थिए।

एकछिनपछि उनीहरु हाम्रो बारेमा कुरा गर्न थाले, 'कुन देशका होलान् यिनीहरु---', 'के गर्छन् होला----', 'अहिले कहाँ जान लागेका होलान्---' इत्यादि। उनीहरुलाई हामी चिनियाँ बुझ्दैनौं भन्ने लागेको थाहा हुन्थ्यो उनीहरुको कुरा गराईबाट। हामी धेरै बेर उनीहरुको कुरा सुनी नबोली बस्यौं।

"म चिनियाँ बुझ्छु नि!" एकछिनपचि मैले एउटीको हातमा कोट्याउँदै भनें।
"आब्बुई--!" उनीहरु दुबै तर्सिएर कराए। लाज मानेजस्तो गरेर एकछिन दुबैजना चूपचाप बसे। तर केहि समयमै उनीहरुको बालसुलभ चञ्चलता र जिज्ञासा फिर्ता आयो र उनीहरु मसंग खुलेर कुरा गर्न थाले। हजुरआमासंग पनि केहि कुराकानी भयो। दुईटीमध्ये एउटी छोरापट्टिकी र अर्की छोरीपट्टिकी नातीनी रे उनकी, दुबै पेइचिङमा बस्ने, अहिले गर्मी बिदाको केहि दिन बिताउन उनीसंग गाउँ जान लागेका। म दुइ घण्टाभन्दा बढी तीनै बच्चीहरुसंग कुरा गरेर बसें। यतिञ्जेल सबिने एक शब्द पनि नबोली झ्याल बाहिरको दृस्य हेरेर बसिरह्यो। उनीहरु पेइताइख नपुग्दैको कुनै स्टेशनमा झरे।

हामी पेइताइख पुग्दा त्यस्तै दुई-साढे दुई जति भएको हुँदो हो। सानो शहर थियो। स्टेशनबाट निस्केर नजानिँदो उकालो बाटो जानुपर्ने रहेछ। त्यै उकालोमा खाद्यान्न-सागसब्जीको खुल्ला बजार पनि लागिरहेको थियो। बजारको टुप्पोबाट अलिक झरेपछि समुन्द्र किनार भेटियो, स्टेशनबाट हिँडेको पन्ध्र-बीस मिनेटजतिमा। क्षितिजसम्म लमतन्न फैलिएको समुन्द्रलाई पहिलोचटि देख्दा मन आल्हादित भयो। तर समुन्द्र किनार पूरै सूनसान थियो। एक पाखो बनाउँदै-नबनाई छोडेको, झ्वाट्ट हेर्दा खण्डहरजस्तो लाग्ने दुई तल्ले घर थियो ओरालो सकिनासाथ। घर अगाडि केहि मानिसहरु तास खेल्दै थिए। 'अर्कै ठाउँमा त आईएन कतै--' भन्ने जस्तो पनि लाग्यो। पहिलोचोटि समुन्द्र देख्दाको खुशीको भाव तुरुन्तै सुकेजस्तो लाग्न थाल्यो। समुन्द्र किनार अत्यन्त फोहर थियो, जताततै प्लाष्टिक र कागतका टुक्राहरु छरिईरहेका थिए। हामीले लख काट्यौं, हामी गलत ठाऊँमा आईपुगेको नभएर पर्यटकीय याम सकिएपछि आईपुगेछौं। तास खेलिरहेकाहरुले पनि त्यसै भन्थे, तीन दिन अगाडिसम्म भिडभाड थियो रे।

झोला तिनै मान्छेहरुका अगाडि फालेर हामी पौडी खेल्न हान्नियौं। पौडिन त्यति नसक्ने भएकोले म छेउतिरै अल्मलिएँ, सबिने भने निकै परसम्म पुगेको थियो। डेढ घण्टाजति समुद्रमा चोपलिएपछि हामी फेरि त्यै खण्डहर घरतिर फर्कियौं। ती मानिसहरु शायद समुन्द्र किनारको सुरक्षाका लागि राखिएका चौकिदारहरु थिए, हामीले सोध्न भने सोधेनौं। तर एकदम रमाइला थिए ती मानिसहरु। हाम्रो क्यामेराले केहि फोटोहरु खिचिदिएर सघाए पनि तीनले। त्यो घरको दोश्रो तल्लामा सानो रेस्टूरेण्टपनि रहेछ। त्यहाँ बसेर बियरको साथमा केहि स्न्याक्सहरु खाएपछि हामी शहरतिर फर्कियौं, भोलि बिहानै फेरि आउने कुरा गर्दै। हाम्रो अबको ध्याउन्न सस्तो लज/होटल खोज्नु थियो रात बिताउन।

तर विदेशीलाई राख्न मिल्दैन भन्न थाले सबै होटलहरुले। पहिलाको 'बन्द' चीनमा त्यस्ता कुरा अत्यन्त सामान्य हुन्थे भन्ने सुनेका थियौं हामीले, तर 'खुलापन'लाई अँगालेको झण्डै डेढ दशक हुन आँटिसकेको चीनमा पनि त्यस्तो हुनसक्छ भनेर हामीले सोचेका थिएनौं। त्यो पनि पेइचिङनजिकैको पर्यटकीय स्थलमा! सडकको दुबैतिर लहरै उभिएका होटेलहरुमा पस्ने र 'विदेशीलाई राख्न मिल्दैन' भन्ने जवाफ पाएपछि निक्लने क्रम जारी रह्यो हाम्रो, धेरै बेरसम्म। कति ठाउँमा हामीले 'विदेशी भएर के भो त, पैसा नतिर्ने हैन क्या रे' भन्दै धेरै गल्फती पनि ग-यौं तर सबैले 'नियमै यस्तै छ त, के गर्ने?' भन्दै फर्काए।

"यो त अति भयो यार! अब विदेशी हैन, चिनियाँनै भनेर भएपनि बस्ने कोशिश गरौं।" हामीले सल्लाह ग-यौं। हाम्रो अनुहार चीनको बहुसंख्यक हान जातिका मान्छेहरुसंग नमिलेपनि चीनको 'सिन्चियाङ'भन्ने प्रान्तका मान्छेहरुसंग मिल्ने हुँदा हाम्रो सूर आफूलाई सिन्चियाङको मुसलमान बताएर रात बिताउने थियो। उनीहरुको नाम पनि हाम्रो जत्तिकै 'अनौठो' हुन्छ। (इस्लाम धर्माबलम्बीहरु बढी भएको यो 'स्वशाशित' प्रान्त पाकिस्तानसंग जोडिएको छ।)

हामी एउटा होटलमा पस्यौं। रिसेप्सनमा एउटी २०-२२ वर्षकी केटीमात्रै थिई। हामीले कोठाको लागि अनूरोध गर्यौं।
"कहाँबाट आउनुभएको हो?" हामीलाई सर्सर्ती नियाल्दै उसले सोधी। 'विदेशी हुन् यिनीहरु' भन्ने परिसकेको थियो होला उसलाई।
"सिन्चियाङबाट।" मैले उत्तर दिएँ।
"ल, यो फाराम भर्नुस्।"
मैले हाम्रा नाम, र ठेगाना लेख्नुपर्ने ठाउँमा 'सिन्चियाङ' लेखें।
"सिन्चियाङमात्रै लेखेर त भएन नि! शहरको नाम, टोलको नाम, घर नम्बर सबै चाहियो।" केटी झर्केर बोली।
हामी अल्मलियौं र मुखामुख गर्न थाल्यौं। चीनको सुदूर पश्चिमी प्रान्तको कुनै शहरको नाम समेत राम्ररी थाहा थिएन हामीलाई, अब टोलको नाम र घर नम्बरको त कुरै नगरौं। कुनै त्यस्तो शहरको नाम, टोलको नाम र कुनै घरको सही नम्बर आदि जानेकै भएपनि हामीले समस्याबाट मुक्ति पाउने भने थिएनौं किनभने फारमसंगै 'नागरिकता' मागिने पक्का थियो। चीनका बहुसंख्यक हान जातिले अल्पसंख्यकहरु र विशेष गरी सिन्चियाङकालाई विदेशीजत्तिनै शंकालु नजरले हेर्थे, त्यसैले 'नागरिकता' धरौटी नराखी बास पाइने थिएन, हामी सिन्चियाङको मुसलमान बन्न 'सफल'नै भएपनि।
"हेर मैयां, हामी सिन्चियाङको मान्छे हैन। हामी विदेशी हौं; विदेशी, पाकिस्तानी।" सबिनले भन्यो। 'अप्ठेरो' ठाउँमा आफूलाई 'पाकिस्तानी' वा 'भारतीय' बताएर फुत्किने हाम्रो पूरानै 'चलन' थियो। [हाम्रो काइते 'देशभक्ति!:) तर हामीमात्रै भने हैन, पाकिस्तानीहरु आफूलाइ 'भारतीय' भनेर उम्किन्थे, श्रीलंकालीहरु आफूलाई 'बंगलादेशी' भन्थे---, सबैको 'चलन' यस्तै थियो:)विदेशी त्यति धेरै नदेखिसकेका चिनियाँहरुले सजिलै पत्याउँथे।]
"अनि किन ढाँटेको त---?" केटी रिसाई।
"अब, विदेशीलाई बस्न नदिने भने सबैतिर, अनि नढाँटेर के गर्ने त--?!"
"विदेशीलाई त यहाँ पनि मिल्दैन!" अघि हामीले भरेको फारमलाई डष्टबीनतिर फाल्दै रिसेप्सनिष्ट बोली।
"-----! ------!" नेपाली भाषाका दुई-चार फोहर शब्दहरुको 'सदुपयोग' सहित आफ्नो रिस ओकल्दै बाहिर निस्कियौं हामी।

"तपाईँहरुलाई कोठा चाहिएको हो?" एकजना अधबैशं महिला हामीतिर आईन्। अघि रिसेप्सनिष्टसंग हाम्रो कुराकानी हुँदा नजिकै बसेर सुनिरहेकी देखेको थिएँ मैले।
"हो।"
"मेरो पनि लज छ, कोठा खाली छ। विदेशीलाई पनि राख्ने गरेको छ। तर यहाँबाट पाँच-सात मिनेट लाग्छ साइकलमा।"
"ए, हो र?!" बल्ल अलिक हँसिलो बोली आयो हाम्रो। "पाँच-सात मिनेट त के टाढा हो र?"
"त्यसो भए मेरो साईकलमा लान्छु नि म दुईजनालाई पालै-पालो, हुन्न?"
ती महिलाले पालै-पालो ओसारिन् हामीलाई।

तल्लो तल्ला रेष्टूरेण्ट र माथिल्लो लज थियो शायद। रेष्टूरेन्ट निकै सफा थियो। अरु केहि मानिसहरु पनि थिए तर ती ग्राहकहरु नभएर लजसंगै सम्बन्धित मानिसहरुजस्ता लाग्थे। 'सुत्ने ठाउँ'को चिन्ता हराएकोले मस्तसंग बियर पिउन थाल्यौं हामी। खाना पनि निकै राम्रो थियो त्यहाँ। खानाको पैसा र कोठाभाडा बेग्लाबेग्लै तिर्नुपर्ने भनियो हामीलाई। बेलुकाको खानालाई भनेर छुट्याएभन्दा अलिक बढीनै खर्च भयो हाम्रो, तैपनि हामी धेरै खुशी थियौं। खाना खाईसकेपछि एकछिन त्यत्तिकै गफ गरेर बस्यौं ।

"माफ गर्नुस्।" अब कोठा देखाईमाग्न प-यो भन्ने कुरा गर्दै थियौं हामी, अघिकी 'साइकलवाली' महिला हामीतिर आईन्। "यहाँ विदेशीलाई राख्न नमिल्ने रहेछ।"
"हँ------!" वियरको नशा उत्रियो हाम्रो। "अनि अघि किन नभनेको त? विदेशीलाई पनि राख्न मिल्छ भनेको हैन अघि?!" हामी रिसले मुर्मुरिएका थियौं। रातको नौ बजिसकेको थियो।
"मलाई थाहा थिएन---!" ती महिला निकै नम्र भएर बोल्ने कोशिश गर्दै थिईन्।
"त्यसो भनेर हुन्छ? यस्तो धोका दिने हो? हामी अन्तै जान्थ्यौं नि----!" हाम्रो स्वर निकै चर्को थियो।

हामी चर्को स्वरले कराएको देखेर अरु पनि आए हामी भएको टेबुलतिर। 'विदेशी राख्न नपाईने नियम छ यहाँ' भनेर कराउन थाले उनीहरुपनि। धेरै बेरको गल्फतीपछि, अलिक नम्र भएर कुरा गर्दा ठिक हुन्छ कि भनेर 'मानवीयताको नाताले भएपनि एकरात बस्न दिन' अनूरोध ग-यौं अन्त्यमा हामीले। तर कथित 'नियम' हाम्रो 'मानवीयता'को अनुनयभन्दा बलियो ठहरियो।

"अघिको ठाउँसम्म पु-याएर छोडिदिन्छु---" 'साइकलवाली' साँचिली पल्टिईन् फेरि।
"प-या छैन---!" रिसले मुर्मुरिँदै हामी बाहिर हुर्रियौँ।

एकछिन त्यसै बरालियौं। कता जाने भन्ने टुंगो थिएन हाम्रो। सानो शहर भएकोले हराइएला भन्नेचाहिँ लागेको थिएन। कम्तिमा ट्रेन स्टेशन त सजिलै भेटिने आत्मविश्वाशमा थियौं हामी।

पेइचिङको 'विदेशी भाषा अध्ययन संस्थान'ले यो शहरमा एउटा गेष्ट हाउस चलाएको छ भन्ने थाहा थियो हामीलाई। महंगो होला भन्ने सोचेर दिउँसो त्यता गएका थिएनौं हामी। बाटोका केहि मान्छेहरुसंग सोध्दै त्यहाँ पुग्यौं। तर गेष्ट हाउसमा कोठा खाली नभएको जानकारी मिल्यो त्यहाँ पनि। अघिल्लो दिन मात्रै पेइचिङबाट एउटा ठूलो समूह आएर बसिरहेको रहेछ। त्यहाँको रिसेप्सनिष्टबाट नजिकैको अर्को होटेलमा जाने सल्लाह मिल्यो। त्यो होटल, हेर्दै महंगो देखिन्थ्यो, तैपनि हामी पस्यौं। कोठा त रहेछ तर एक रातको १५० यूआन रे! हामी दुबैसंग भएको पैसा जोड्दापनि त्यति पुग्दैनथ्यो! फेरि भोलिपल्ट पेइचिङ फर्कनु पनि थियो।

कुनै उपाय बाँकी रहेन अब! होटेलबाट लगभग २ सय मीटरजति अगाडि एउटा सानो पार्क थियो। हामी त्यतै लाग्यौं। पार्कमा बेञ्चहरु थिएनन्। बीचमा रहेको एउटा खाँबोको टाउकोमा बडेमानको बत्ती बलिरहेको थियो।

"यो हाल्नचाहिँ कसरी सम्झिइस् नि यार?!" सबिनले झोलाबाट एउटा पातलो टाटजस्तो निकालेर ओछ्याउन थालेको देखेर मैले सोधें।
"झोलामा के हालौं-के हालौं भएर कोचेको---, काम लाग्यो।"
"काम लाग्या हो कि यहि टाट अलच्छिनी परेर सुत्ने ठाउँ नपाईएको हो---!"

रातको दश बजिसकेको भएपनि एकदम गर्मी थियो। लामखुट्टे त्यत्तिकै धेरै थिए। हामी कहिले झोलाको सिरानी बनाएर पल्टिने, कहिले पलेंटी कसेर बस्ने गरेर रात बिताउने कोशिशमा थियौं।

"सर्पले टोक्यो भने के गर्ने यार---?"
"मचाहिं छोड्दिंन त्यो सर्पलाई! म पनि टोक्दिन्छु तेल्लाई---!" बेला-बेलामा यस्तै कुरा गरेर हाँस्ने कोशिश पनि गर्दै थियौं हामी। तर दिनभरिको थकाई र वियरको नशा मिसिएर लठ्ठिएका हामीसंग बोल्ने र हाँस्ने शक्ति भने खासै थिएन।

बिहान चार बजेतिरबाट सिमसिम पानी पर्न थाल्यो। हल्ला गर्दै र पेइताइखलाई मातृभाषा-रात्रिभाषामा गाली गर्दै हामी ट्रेन-स्टेशनतिर लाग्यौं। त्यहाँबाट पन्ध्र मिनेटमै पुगियो। पहिलो रेल छ बजेमात्रै छुट्ने रहेछ।

दिउँसो खाना खाने बेलासम्म हामी आफनै छात्रावास पुगिसकेका थियौं।

(This article is also posted in The road to nowhere------- )

 


 
Posted on 07-24-08 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto ramaailo katha raicha  
 
Posted on 07-25-08 3:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद pjna007जी!


 
Posted on 07-25-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एउचोटी लेहीरथें दुईचोटी टाँस्सीएस।

Last edited: 25-Jul-08 08:40 AM

 
Posted on 07-25-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि भेट भो प्रभो संग यता।

बिरक्त लाग्ने त्यो भोगाइमा त्यतिबेला छम छम नाँचेको तिक्तता अहिले प्रस्तुतीमा पनि उस्तै नाँचेको पाएँ।  तर उती बेलाको त्यो यथार्थको नृत्य अहिले स्मरणको हुन पुगेछ। त्यतिबेला आफै पात्र भएकोले नाँचको रमाईलो छुट्यो होला, अहिले त दर्शक हुन पाएको बेला त्यो रमाईलो पक्कै अनुभब भएको हुनु पर्छ।

Last edited: 25-Jul-08 08:41 AM

 
Posted on 07-25-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी, लामो समय पछि साझा छिर्नुभएछ सबैभन्दा पहिला त स्वागत छ!

धेरै रमाइलो संष्मरण राख्नुभयो। मैले पनि सुनेको थिएँ चिनमा खुल्ला अर्थतन्त्रको अभ्यास हुनथालिसकेपछि  त म्यूजियम, चिडियाखाना तथा अरु टिकट काटेर जानु पर्ने स्थानमा समेत टिकट काउन्टरबाट हात छिराउँदा हातमा रौँहरु हेरेर बिदेशी भन्ने लागेमा बढि पैसा माग्ने गर्दथे रे (बिना नागरिकता हेरेरै) भनेर, कति सत्य हो थाहा छैन।

अनि कस्तो चल्दैछ तपाइँको जीवन? छोरी त अब दिनदिनै ठूली हुँदै होलिन्? यसो आउँदै गर्नुहोस न है?


 
Posted on 07-25-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गौतमजी, धेरै पछी भेट भयो नि। रमाइलो लाग्यो कथा पढ्दा। आँउदै गर्नुहोस् न।   

 
Posted on 07-25-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कथा रमाइलो लाग्यो.

 
Posted on 07-25-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद दीप पर्भो! त्यो बेलाँ हण्डर खाएजस्तो लागेपनि अहिलेचैं रमाइलै लाग्छ।

धन्यबाद जिम्माल! जिम्मालले भनेजस्तो पनि हुन्थ्यो त्यतिबेलासम्म पनि। अहिलेचाहिँ के हुन्छ कुन्नि।

छोरी साढे दुई वर्षकी पुग्न आँटी। सम्झनुभएकोमा धन्यबाद। मेरो जिन्दगी उसकै पछि कुद्दैछ भनौं न। संसारै उसको वरिपरी घुमेको छ अचेल

धन्यबाद चिप्लेजी! आउँदै गरौंला अवश्य पनि, नमरी बाँचे कालले साँचे----।

धन्यबाद Springजी यो संस्मरण मन पराइदिनुभएकोमा!


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters