[Show all top banners]

Rudramati
Replies to this thread:

More by Rudramati
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा - मृत्यु पर्खिरहेछ / राशि पाण्डे
[VIEWED 6322 TIMES]
SAVE! for ease of future access.
Posted on 08-02-13 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ ।

के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम ? मासु खान हुन्न, हलो जोत्न हुन्न । बित्थामा आधा दुध त त्यसैलाई पोस्दै ठिक हुन्छ । फेरि तिन, चार वर्ष पाल्यो, देवीलाई बलि चढाउनेहरूले कति नै दिइहाल्छन् र ? तिन, चार सय त हो नि ? दुध नै हजार–पन्ध्र्र्र सयको खाइदिन्छ ..... तराईमा त थुप्रै पैसा दिन्छ रे पाडाको पनि ? के गर्नु त्यहाँ दिएर ? लैजान सकिने होइन ?

घाँसपात पाए त के थियो नाइँ .... दुहुनीलाई त एक भारी हरियो खोज्न कति गारो परिसक्यो ? वनपालेले अचेल स्याउलै काट्न दिन्न । कसले पाल्न सकोस् पाडो ? फाल्दिनै प¥यो । घरधनीबुढी अठोट गर्छिन् ..... पाडी पाए त, ब्याँउछ, दुध दिन्छ, गोठ बढाउँछ भन्नु ?

“इजा, इजा बच्चा निस्कन लाग्यो ।” सानी छोरी चिच्याउँछे । घरधनीबुढी हत्तारिँदै बाहिर निस्कन्छिन्  “इजा, बच्चा नफाल्ने है ? पाडो भए पनि नफाल्ने, वीरचन्दको झैँ ठुलो राँगो बनाउनुपर्दछ हुन्न ?”

“जाबो एउटा भैँसीका लागि एउटा सिङ्गै राँगो पाल्न सकिन्छ ? गाउँमा एउटा भए त पुगिहाल्यो नि” उनी हकार्दछिन् । 

“चार माना दुध दिनहुँ त्यसैलाई चाहिन्छ ? चार माना दुधको कति घिउ बन्छ, भन् त ?”

“सार्कीलाई बोलाएर ल्याऊँ ?  उसले पाडो लगिहाल्छ” ठुलो छोरो सुझाउ दिन्छ ।

“पर्दैन, सार्कीले काटेर खान्छ ? हामीलाई पाप मात्र लाग्ने हो । चौलानेको बगरमा राखिदियो, जति दिनसम्म आयु लेखेको छ बाँचोस् न । हामीहरू बित्थामा पापको भागी किन बन्ने ?”

भैँसी व्यथाले छट्पटिरहन्छ । सोत¥याङ सुतेर चार खुट्टा फाली कनिरहेको छ । पानी फोकासँगै बच्चाको अगाडिको खुट्टा बाहिर निस्कन लागेको छ । सुस्तरी, सुस्तरी बच्चाको टाउको र क्रमशः पुरै जिउ फ्यात्त निस्कन्छ । पाडो रहेछ ।  बच्चाको खुट्टा समाती घरधनीबुढी घर्रर घिसार्दछिन् । पर कुनामा पु¥याउँछिन्, भैँसीले नदेख्ने ठाउँमा ।

भैँसी जुरुक्क उठेर फरक्क फर्कन्छ, पाडो छैन । पर कुनामा पाडो वाइँ ऽ ऽ गर्छ । आमासम्म उसको आवाज पुग्न सक्दैन । माउ र पाडाको बिछोड गराइन्छ । आमाबाट बच्चा खोसिन्छ । आफ्नो थोपाथोपा रगतले सिँचेर दस महिनासम्म गर्भमा राखी पोषण गरेको बच्चा, आज गर्भबाट निस्कनासाथ, पृथ्वीमा आउनासाथ अलग्याइन्छ, छुट्ट्याइन्छ । बात्सल्यले एक फेर म्वाइँ खान पाएको होइन, ममत्वको एक शब्द पोख्न पाएको होइन । त्यति कष्ट गरेर जन्माएको बच्चा, एक नजर लगाउन पाएको होइन ।

भैँसी वाइँ ऽ ऽ वाइँ ऽ गरी बच्चा खोज्दछ, फर्कन्छ– पछाडि यताउता चारैतिर । कतै बच्चा छैन । बच्चाको गन्धसम्म आउँदैन । अलिकति पिल्लिएको रगत, केही पानीले भिजेको जस्तै टाटो छ भँुइमा । भैँसी त्यस टाटालाई सुँघन खोज्दछ, चाट्न खोज्दछ । उसलाई सुँघ्न पनि दिँदैनन् केटाकेटीहरूले । आमाले तिनीहरूलाई खबरदार गरेकी छिन् “साल सुँघ्न नदिनु, बच्चाको गन्ध पायो भने भैँसीले दुध दिन मान्दैन” भैँसी फ्वाँ फ्वाँ गरी हकार्दछ, केटाकेटीहरूलाई । अनि फेरि सालले भिजेको माटो सुघ्न लम्कन्छे । बलियो गरी बाँधेको डोरी तनक्क तन्कन्छ, चुँडिएला झंै गरी । स्वाट्ट, लौरो बजारिन्छ थुतुनामा उत्तिखेर । तपक्क दुई थोपा आँसु चुहिन्छ भैँसीका आँखाबाट पीडाले । भैंँसी फोस्रो आक्रोश पोख्छ सिङ हल्लाएर ।

साल अझै झरेको छैन, तुर्लङ्ग झुन्डिरहेको छ ।  भैँसी घाँटी लम्काएर जिब्राले चाट्न खोज्दछे । “साल खान नदिनु, भैँसीको दुध घट्छ” आज्ञाकारी छोराछोरीहरू भैँसीलाई आफ्नो सालसम्म चाट्न दिन्नन् । लौरो देखाएर तर्साउँछन् ।

बोराले बेह्रिएको पाडो छट्पटिरहेको छ । उनी बच्चालाई बोकेर बगरतिर हिँडिरहेकी छिन् । चौलाने खोला आइपुग्छ  । बच्चा फाल्ने एक सुरक्षित ठाउँ छ, नदी छेउमा । घरधनीबुढी पाडालाई थ्याच्च राखिदिन्छिन् ।

वाँइँय ..... पाडो उनलाई बोलाउँछ । सुँध्छ यताउता । थुन खोजिरहेछ ऊ, उनैलाई आफ्नी आमा ठानेर । जिउ राम्ररी सुकिसकेको छैन । काँपिरहेछ जाडाले थरथर । बिचरो निरीह प्राणी, जन्मने बित्तिकै टुहुरो बनाइएको बच्चा, मर्नका लागि बगरमा मिल्काइएको बच्चा, आफ्नी आमालाई “आमा” सम्म भन्न नपाएको मुखसम्म हेर्न नपाएको बच्चा । वाइँ ऽ ऽ वाइँ गरी आफ्नै हत्यारालाई आमा सम्झिएर स्नेह पोखिरहेछ, स्नेह मागिरहेछ ।  

बुढी तटस्थ छिन् । मुखमा कुनै किसिमको भाव छैन । निर्विकार भएकी छिन् उनी । आमा, सबै आमा एकै त हुँदा हुन् । जननी जननीमा त भेद नहुनुपर्ने ? प्रसव वेदना मानिस र भैँसीमा उस्तै त हुन्छ होला नि ? आआफ्नो सन्तानप्रति, आफ्नो रक्त, मांसको पिण्डप्रति उत्तिकै त माया लाग्छ होला नि ? त्यसो भए किन आफ्नो सानो स्वार्थको लागि निर्दोष शिशुको हत्या गरिन्छ ? उसको बाँच्ने अधिकार खोसिन्छ, उसलाई तड्पी तड्पी मर्नका लागि मिल्काइन्छ ? घरधनीबुढी घरतिर फर्कन्छिन् । 

पाडो वाइँ ऽ ऽ वाइँ ऽ गरी उभिन खोज्छ । उनलाई पच्छयाउन खोज्छ । भर्खर जन्म लिएको बच्चा, चार खुट्टाले उभिने प्रथम प्रयास । खुट्टा लरखराउँछ, साथ दिन्न खुट्टाले ऊ लड्छ । थेचारिन्छ भुइँमा । ढुङ्गै, ढुङ्गाको सारो भुइँ शरीरभरि दर्द व्याप्त हुन्छ । करुण स्वर निस्कन्छ ..... वाइँ ऽ ऽ... ऊ दीन नजरले लाई ओझेल नहुन्जेल नजरले पच्छ्याइरहन्छ ........

भर्खर ब्याएको भैँसीको पेट खर्लप्प भएको छ ।  खड्कुलोभरि कुँडो राखिदिन्छन् । भंैसी सुँघ्छ र खान लाग्छ । खाँदै जान्छ र मुखबाट बच्चालाई बोलाउने आवाज पनि निकाल्दै जान्छ । उसलाई बच्चा पर बगरमा मृत्यु कुरिरहेको छ भन्ने अनुमान नै छैन । बच्चा जन्मिएको त पक्कै हो । कहाँ गयो ऊ ? सोच्न लाग्छ । सर् सर् कोही हिँडेको कोही चलेको आवाज आउँछ । भैँसी वाइँ गरी फर्कन्छ ।

एउटा कुकुर खानाको गन्ध पाएर आइरहेको छ । कुकुर झरेको साल चाट्न लाग्छ । फ्वाँ, फ्वाँ गरी भैँसीले तर्साउँछ कुकुरलाई । धूर्त कुकुर अटेरी भइदिन्छ । उसलाई थाहा छ मोटो डोरीले बाँधिएको भैँसी, उसको केही बिगार गर्न सक्दैन । उसलाई छुन पनि सक्दैन  केको डर ? ऊ निर्धक्क भएर खाइरहन्छ ।

भैँसी कुँडो रित्याउँछ । साल पनि झर्छ । बच्चाको चालचुल कतैबाट पाइँदैन । उसको सम्पूर्ण ममत्व हाहाकार गर्न लाग्छ । सम्पूर्ण वात्सल्य खनिएर आउँछ । ऊ खड्कुलो सुँध्छ । मानिसलाई सुँध्छ । कसैबाट आफ्नो अंशको गन्धसम्म पाउँदैन । कसैबाट आफ्नो मुटुको टुक्राको वाससम्म आउँदैन । ऊ कुकुरलाई सुँघ्न लम्कन्छ । कुकुर उसको थुतुनो ल्याप्प चाटी दिन्छ, पुच्छर हल्लाउँदै । ऊ सिङ झटारेर हिर्काउँछ कुकुरलाई । यसैले मेरो बच्चा खाइदियो कि ?  कुकुर क्वाइँ गरी पर भाग्छ । ऊ फ्वाँ ....फ्वाँ ...... गरी आफ्नो नैराश्य देखाउँछ । कल्चौँडो दुधले टन्न भरिएको छ । गानिएर दुख्न लागिरहेछ । टन्कन लाग्छ दुधको फाँचो । ऊ छटपटाउँन लाग्छ । पाडो खोज्दछ धँइँधुइँती । दाम्लो चुडाउला झैँ गर्दछ ।

घरधनीबुढी पारो लिएर दुध दुहुन आइ पुग्छिन् । भैँसीलाई सुमसुम्याउछिन् । माया गर्छिन्, स्वार्थी माया । भैँसी उनलाई सुँध्छ । मालिक हुन् बच्चा होइन । खै मेरो बच्चा ? खै मेरो लाल ?  थुन छाम्दछिन् । पानी छ्यापेर कल्चौँडो सफा पार्दछिन्, दुध निचोर्दछिन् । पहँेलो जमेको दुध सिरिर्र झर्दछ ।

भैँसी सन्चो मान्दछ । फरक्क फर्केर सुँघ्दछ, दुध खाने को हो ? आफ्नो बच्चा होइन । यो त मानिस हो । दुधचोर । कहाँ गयो त मेरो बच्चा ? भैँसी छटपटिन्छ । खुट्टा झटार्दछ । लतार्छ दुध दुहन दिन्न ।

“च्व.... च्व...... ह्.......ह्.... घरधनीबुढी भैँसीलाई फुल्याउने प्रयास गर्दछिन् । भैँसी फनफनी किलामा घुम्दछे । ह...... ह.... चुप...... । उनी ठुलो स्वरमा भैँसीलाई हकार्दछिन् । छोरी भैँैसीलाई गुँड चटाउन लाग्दछे । भैँसी केही शान्त हुन्छ । दुहेर सकिन्छ । भैँसीको अाँखाभरि आँसु आउँछ, पारोभरि दुध ।

पाडो बगरमा कठ्याङ्ग्रिरहेको छ, कराइरहेको छ । ऊ घाँटी तन्काएर चारैतिर हेर्न लाग्छ । सेतो चामलको चौलानी जस्तो पानी आफ्नो गतिमा बगिरहेछ । एकातिर ठाडो भिर छ  अक्करको । कतै छैन उक्लने ठाउँ । ढुङ्गा सुँग्घ्छ ऊ ? चाट्छ । निर्जीव ढुङ्गा केही बोल्दैन, केही भन्दैन । ऊ यताउता आमालाई खोज्छ ..... खानेकुरा खोज्छ । थुन खोज्छ– एउटा अन्तःप्रेरणा ।

पर खोलाभित्र ढुङ्गाहरू ठक्कर खाएको, पर पारि किराहरू कराएको आवाज आउँछ । प्रत्येक आवाजलाई ऊ आफ्नी आमाको आवाज ठान्दै नियाल्छ शिर उचाली, उचाली । हेर्छ, करुण आवाजमा पुकार्छ । पर गोठ घरमा मोटो साङ्लाले बाँधिएकी उसको आमासम्म, उसको बिलौना पुग्न सक्दैन । उसको क्रन्दन पुग्न सक्दैन । भोकले पेट खर्लप्प भैसकेको छ । आफ्नो वरिवरिका सबै चिजलाई खानेकुरा सम्झिएर ऊ सुँघ्छ, चाट्छ । चिसो हावाको सिरेटो सुइँसुइँती चलिरहेछ । साँझ झम्किँदै गइरहेछ । उसका सबै आशाका त्यान्द्राहरू क्षीण, क्षीण हँुदैै गैरहेछन् । लाचार ऊ घाँटी सोत्त¥याङ्ग पार्छ  भुइँमा । एकै छिनमा घाँटी दुख्न थाल्छ । ऊ टाउको उठाउँछ र बस्छ । यताउता हेर्छ । उठ्छ । हिँड्न खोज्छ । साँघुरो ठाउँ ऊ धरमरिन्छ । फेरि थ्याच्च बस्छ ।

बिहानको मिर्मिरे उज्यालो फैलिन लाग्छ । पाडो आँखा खोल्छ । पर खोलाको डिलमाथि कोही हिँडिरहेको छ । ऊ वाइँ ऽ ऽ गरी बोलाउँछ । कुनै प्रतिक्रिया हुन्न । ऊ उभिन्छ र फेरि वाँइँ ऽ ऽ गर्छ । गोडा थरथर काँप्न लाग्दछन् । रन्थनिएर लड्छ । ड्वाङ्ङ । थुतुनो ढुङ्गामा ठोकिन्छ । सर्रर तातो तरल पदार्थ बग्छ नाकबाट । चाट्छ ऊ जिब्राले प्रथम स्वाद– नुनिलो रगतको, आफ्नै रगतको । ऊ फेरि चाट्छ, के हो ? चिन्न सक्दैन । दुध, रगत भाउन्न हुन्छ उसलाई । ढल्छ ऊ चारै खुट्टा तन्काएर । लमतन्न भै दिन्छ । उठ्छ, बस्छ । 

पर पारि खोलाको किनारमा केही भैँँसीहरू चर्न लागिरहेका छन् । एकोहोरो वाइँ ऽऽ वाइँ ऽ गरी कराउन लाग्छ । एउटा भैँसीले वाइँ ऽ ऽ गरी जवाफ फर्काउँछ । ऊ हर्षातिरेकमा सिधै दौडेर पुग्न खोज्छ । झ्वामल्याङ्ग पानीमा खस्छ ऊ । पानीमा च्वाप्प डुब्छ । टाउको मात्र अलगन्छ । पानीको बगाइसँगै ऊ पनि बग्न लाग्छ । टुलुटुलु उसका आँखाहरू पर पारिका भैँसीहरूमै केन्द्रित रहेका हुन्छन् । ऊ तरेर पारि जान खोज्छ । पानीको तेजले उसलाई खुट्टा टेक्न दिन्न, तैरिनै दिन्न । भर्खर एक दिनको बच्चो, भोको प्यासो । ऊ उबडुब गर्न लाग्छ । चिसाले उसका गोडा, मुटु सबै जमे जस्तो हुन्छ ।

निकै बेरपछि उसको होस खुल्छ, पाडो थाहा पाउन्न कसरी फेरि बगरमा पुग्यो ? पर एउटा मानिस कतै गैरहेको छ, ऊ त्यसको पछि लाग्न खोज्छ । अप्ठेरो बाटो ऊ उक्लन सक्दैन । पर आमाको आवाज आए जस्तो लाग्छ उसलाई । आमाले बोलाइरहे जस्तो लाग्छ उसलाई । आवाजलाई पछ्याएर ऊ हिँड्न खोज्छ । कराउन खोज्छ । स्वर कताकता कण्ठमै हराउँछ । आशालु नजर यताउता हेर्छ । आमाको कतै अत्तोपत्तो छैन । आशैआशामा दिन बित्छ । रात आउँछ । फेरि नयाँ सूर्योदय हुन्छ । नयाँ रात आउँछ । केही खानेकुरै भएन, भोकले भाउन्न हुन लाग्छ । आकुलब्याकुल हुन्छ । ऊ विकल भएर दौडन्छ । लड्छ । बेहोस हुन्छ । जाग्छ । कतै कुनै आशाको त्यान्द्रोसम्म छैन । पर स्यालको हुँइया सुनिन्छ । ऊ वाइँ ऽ गरी बोलाउँछ । तर स्वर फुट्दैन, आवाज निस्कँदैन ।

काँ .... काँ ........ काग कराउन लाग्छन् । बिहानको मिर्मिरे चारैतिर फैलिन सुरु भएको छ । जीवनको चौथो सूर्योदय । पाडो टाउको उठाएर हेर्न खोज्छ । शक्ति नै छैन शिर उठाउने, सूर्यलाई नमस्कार गर्ने । काग अझ नजिकिन्छ । टाउको हल्लाएर काग धपाउने कोसिस गर्छ ऊ । कान पनि मुस्किलले हल्लाउन समर्थ हुन्छ । काग टाउकै नजिक आइपुग्छ । क्वाप्प ठुँङछ आँखामा । पीडाको लहर शरीरभरि व्याप्त हुन्छ । ऊ अाँखा झिमिक्क पार्छ । काग पर भाग्छ । 

काँ.....काँ.... अरू कागहरू पनि आइपुग्छन् ।.... थुप्रै थुपै्र कागहरू.... पाडो अाँखा खोल्दछ । केही केटाकेटीहरू कागलाई ढुङ्गाले हिर्काएर धपाइरहेका छन् । कति बेलासम्म उनीहरू कागलाई धपाउन सक्छन् र ? कति दिनसम्म तिनीहरू पाडाको पहरेदारी गर्न सक्छन् ? 

पर माथि आकाशमा गिद्धहरू उडिरहेका छन् । उसलाई केन्द्रबिन्दु बनाएर ? ऊ आफ्नी आमालाई  एकपल्ट फेरि सम्झन खोज्छ । कुनै आकार, कुनै आकृति उसको मानसपटलमा बन्दैन । अनि झल्याँस्स त्यो घरधनीबुढीलाई सम्झन पुग्छ । आमा त्यही हो कि ? किन हो, ऊ ती बुढीलाई आमाको रूपमा स्वीकार्न सक्दैन । पाडो तन्द्रा अवस्थामा पुग्छ– अनि घरधनीबुढीले लगाएको फरिया पखेटा बन्छ, त्यो बुढीको अनुहार गिद्धजस्तै आकाशमा उड्न लाग्छ । पाडो ती गिद्धहरूलाई ठम्याउन खोज्छ, राम्ररी चिन्न खोज्दछ, बुढीकै अनुहार उसको आँखामा घुमिरहन्छ, झलझली मान्छेकै चित्र उसको नानीमा नाँचिरहन्छ ............. 

 

(“मृत्यु पर्खिरहेछ” गरिमा, वर्ष ५, अङ्क ७, पूर्णाङ्क ५५, असार  २०४४)


 
Posted on 08-02-13 4:25 PM     [Snapshot: 154]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 My heartfelt condolence to Paado. Bado hridayesparsi katha padhiyo Rudramati. Thanks for Sharing. 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters