[Show all top banners]

kya_naam_disturb

More by kya_naam_disturb
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

emerald911
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 छापामारसँग एक साँझ
[VIEWED 8318 TIMES]
SAVE! for ease of future access.
Posted on 11-08-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छापामारसँग एक साँझ

- गिरिश गिरी

फिस्स हाँस्दा गुलाबी ओठका चिराहरू फैलिए। निधारतर्फ बढ्दै गरेका गोरा र कमला औंलाहरू अलिक काँपेजस्तो पनि लागिरहेको थियो। 'नमस्ते।' यसको जवाफ मलाई दिनु थिएन, त्यसैले टाउको अर्कोतिर फर्काएँ।


ठिक एक साताअघिको त्यो साँझ हामी रमाइलो चियाकमान हुँदै फिक्कलतर्फ पैदल हिँडिरहेका थियौं। बाटोमा अचानक भेट भएकी यी युवतीका बारेमा मैले अघि नै सुनेकोे थिएँ।

'पहिले छापामार थिइन्,' हामीसँगै हिँड्दै गरेका गायक दाजु गणेश रसिक भन्दै थिए, 'अब लेखिका बन्न चाहन्छिन्।'
अनायासै मेरो नजर त्यो अनुहारमा फेरि गयो। उनी अझै भद्र पाराले हाँसिरहेकी थिइन्। यता भने मनमनै आक्रोस जन्मिरहेको थियो, 'किन यो केटी यसो गर्दैछे?' मानौं बिनाकारण ऊ संलग्न समूहले मेरो टाउकोबाट अभिभावकत्वको छाया हटाइदिएको घटना उसका निम्ति केही होइन। जीवनमा पहिलो पटक 'फलानो पूर्व छापामार हो' भन्ने थाहा पाउँदा-पाउँदै पनि छेउमै उभिएर बस्नु परेकोमा साह्रै असजिलो हुँदै थियो।

म अचानक आइपर्ने अप्ठ्यारो समयलाई झेल्ने तरिकै जान्दिनँ। त्यसैले अलिक पर गएँ। एकैछिनमा अलग्गिएपछि हाम्रो यात्रा अघि बढ्यो। फिक्कल बजारमा भेटघाट र सामान्य किनमेलपछि अँध्यारो रातलाई मोबाइलको उज्यालोले
ठम्याउँदै चियाबगानभित्र लुकेको वासस्थान पुगियो। घरभित्र पस्नेबित्तिकै फेरि त्यही अनुहार! साथी देवेन्द्र उनका बारे जान्न बढी उत्सुक थियो। उसैले यिनलाई बोलाएको रहेछ। 'तीनवटा नाम छन् मेरा,' अर्कैतर्फ टाउको फर्काए पनि म उनीहरूबीचको संवाद सुनिरहेको थिएँ, 'बा-आमाले दिएको तारा राई, पार्टीले दिएको सीमा र म आफैले राखेको अनमोल।' पञ्चकन्या गाविसकी यी २० वर्षीयाले सुनाउँदै गरेका भोगाइहरू रोचक थिए।  'नयाँ बजारको मामाघर बसेकी थिएँ, उहाँकै छोराछोरीसँग स्कुल जान्थेँ,' उनले भनिन्, 'पढ्दा-पढ्दै एक्कासि सबैजनाले हिँड्ने कुरा गरे। मनमा एक किसिमको उमंग जस्तो भयो र कता-के भन्ने राम्ररी नठम्याएरै हुलमुलमै हिँडिदिएँ।' ०६१ साल माघमा यसरी स्कुल छाडेर छापामार शिविरमा लागेपछि उनको जीवनले नयाँ मोड
लिएको थियो। बाटोभरि रंगीचंगी सपनाहरू देख्न थालिन्। आफूले पढ्दा-पढ्दै छाडेको छ कक्षा मात्र होइन घरमा बा-आमा र दुई बहिनीको चिन्ता पनि लाग्न छाड्यो। समूहका मान्छेले उनलाई सांगीतिक फाँटको जिम्मा दिए। केही दिनमै उनलाई 'तिमी अब सहकमान्डर भयौ' पनि भनियो।

'मैले कहिल्यै हथियार बोकिनँ,' उनले स्पष्टीकरण दिएझैं भनिन्, 'जता गए पनि हाम्रो समूहको काम नाचगान हुन्थ्यो र म गीत गाउथेँ।' उनी यसकारण पनि स्पष्टीकरण दिन चाहन्थिन् कि आजभोलि गाउँमा बस्न निकै गाह्रो हुँदै गएको छ रे! 'उतिबेला
कतिलाई मारे, कतिको जग्गा कब्जा गरे, घाइते त कैयन भए। त्यो सबैको आक्रोस मैले झेल्नुपर्छ,' उनी भन्दै थिइन्, 'गाउँलेले मलाई अप्ठेरो व्यवहार गर्दा आफूस्वयं अपराधीजस्तो लाग्न थालेको छ।' उनले आफ्नो भनाइलाई यो विन्दुमा ल्याइपुर्‍याएपछि अलिकति हल्का महसुस भयो र अनुहार सोझो पारेरै कुरा सुन्न थालेँ। 'तर म धेरै दिन टोलीसँग हिँड्न पाइनँ,' भनिन्, 'तीन महिना १९ दिनमै पक्राउ परेँ र जेल पठाइएँ।' एउटा गाउँमा पुगेका बेला त्यतिखेर अचानक सुरक्षाकर्मीले छापा मारेको रहेछ।
'साथीहरू भागिहाले। के गर्ने - कसो गर्ने मेसो नपाउँदै फायरिङ सुरु भयो,'

उनले भनिन्, 'म दुवै कानलाई हातले छोपेर थचक्क त्यहीँ बसेँ।'

एकछिनपछि सुरक्षाकर्मीहरू आए र उनलाई समातेर 'तँ को होस्?' भनेर सोधे। उनले आफू पक्राउ परेकै घरको पाहुना बताइन्। उनीहरूले क्रस चेक गरे र दुई थप्पड हिर्काए। 'त्यति मात्र हो मैले सुरक्षाकर्मीबाट पाएको यातना,' उनी भन्दै थिइन्, 'त्यसपछि जेल बसुन्जेल सबैले मलाई माया मात्र गरे।' नगरून् पनि किन? यस्तो मायालाग्दो अनुहार छ! म घरिघरि उनको अनुहार हेर्थें फेरि केही सम्झेजस्तो गरेर झसंग पर्दै ब्युँझन्थेँ। 'इलाम, झापा र विर्तामोडका जेलहरूमा म पुर्‍याइएँ,' उनले भनिन्, 'त्यतिबेला सक्दो किताबहरू खोज्ने र पढ्ने बानी बसाल्दै लगेँ।' शान्तिप्रक्रिया सुरु भएपछि हिरासतमुक्त भएकी उनले वर्षदिन भन्दा बढी जेलमा बिताइसकेकी थिइन्। 'जेलबसाइले मभित्र धेरै परिवर्तन ल्यायो,' उनले भनिन्, 'अझ इलामको ब्यारेकमा राखिँदा
त्यहाँका एकजना सैनिकले मलाई स्नेहसहित सिकाएका कुराले भित्रभित्रै आफू फेरिँदै गरेको महसुस गरेँ।' उनका भनाइअनुसार त्यहाँभित्र पुगेपछि उनले युद्धको अर्को पाटो देख्न पाइन् जहाँ घरपरिवारको जिम्मेवारी पूरा गर्नका निम्ति प्रहरी र सेनाको जागिर खाएकाहरू भेटिन्थे। त्यो परिवेशमा बसेर उनीहरूको आत्मीयतालाई महसुस गर्दै गएपछि बिनाकाम कत्ति धेरै जहर मिसाउने
काम गरिएको रहेछ भन्ने पनि बुझ्दै जान थालिन्। 'त्यहाँ पनि हामीजस्तै मन भएका मान्छे रहेछन्, अझै कतिपय त एकदमै राम्रा मन भएका,' उनले भनिन्, 'देख्नेबित्तिकै मारिहाल्नू भन्ने खालका सुरक्षाकर्मी त मैले कहिल्यै भेटिनँ।'

यहाँ आएर अब तारा राईको जीवनमा एउटा नयाँ मोड सुरु हुन्छ। अर्थात, उनी अब लेखिका भएकी छन्।  'आफ्नै अनुभव त्यत्रा थिए, जेलभित्र थुप्रै किताब पढेपछि मलाई आफू पनि केही कोर्न सक्छुजस्तो लाग्यो,' भन्दै गइन्, 'मेरो आफ्नै भोगाइको युद्ध र परिवेशलाई मनमा राखेर कथा बुन्दै जाँदा सिंगो उपन्यास बन्न पुग्यो।' आफ्नो उपन्यासलाई नाम दिएकी छन्, 'आफ्नोपनको बन्धन।' 'के हो, कस्तो बन्धनको कुरा छ यसमा?' साथीले प्रश्न गरे।

'एउटी छापामार र जेलमा भेटिएका सैनिकबीचको सम्बन्धलाई यसमा उल्लेख गरेकी छु।'


उनको उपन्यासका नायक एक सैनिक छन्। साह्रै असल र सुन्दर युवक। जीवनमा उसले डाक्टर बन्ने सपना देखेको हुन्छ। सबै कुरा राम्रैसँग अघि बढिरहेको पनि छ। एक दिन अचानक माओवादीले त्यो युवकको पितासँग चन्दा माग्छ। पिता अलिक
स्वाभिमानी प्रकृतिका हुन्छन्। दिन मान्दैनन्। माओवादीले डर, धाक र धम्की दिन थाल्छ। पिताले पनि डराएर झनै चन्दा नदिने अडान राख्छन्। यस्तैमा माओवादीले ती स्वाभिमानी पिताको हत्या गरिदिन्छ। हत्या मात्र गर्दैन चन्दा
नपाएकै रिसमा उनको पितालाई सामन्ती र जासुसजस्ता विशेषण पनि उल्टो भिराइदिन्छन्।

कुरो यहाँ पुग्नेबित्तिकै मभित्र अचानक हुरी चल्न थाल्यो। कस्तो ठ्याक्कै। यसले बुझेरै लेखेकी हो वा मलाई जिस्काउन थालेकी
हो? म रनभुल्लमा परेँ। सुरुदेखि नबोलेर बसेको मेरो मुखबाट अचानक बोली फुट्यो, 'तिम्रो हातमा बन्दुक परेको भए चलाउँथ्यौ कि चलाउँदैन थियौ?' उनको जवाफ आउनुभन्दा पहिले छेउमै बसेका रसिक र साथी देवेन्द्र अचम्म मान्दै मतिर हेर्न थाले।
'चलाउँदिनथेँ,' उनले सुरुमा भनिन्। माओवादीकै गोलीबाट भाइ गुमाएका रसिक दाइले पनि सोध्न थाले, 'आदेश दिएपछि किन चलाउँथेनन् माओवादीले?' 'सायद चलाउँथे पनि होला,' उनले एकछिन सोचेजस्तो गरिन् र भनिन्, 'तर जीवनभर पछुताएर बाँच्थेँ।'

त्यतिन्जेल देवेन्द्रले उपन्यासको अगाडिको भाग सुनाउन भन्यो। उनले पनि वर्णन जारी राखिन् :  पिताको हत्यापछि केटोको जीवन फेरिन्छ। ऊ अब डाक्टर बन्न चाहँदैन। बरु बदलाको भाव हुन्छ उसमा। आफ्नो पितालाई जसरी माओवादीले मारे त्यसैगरी माओवादीलाई पनि मार्ने उपाय खोज्छ र सेनामा प्रवेश गर्छ। उपन्यासकी अर्की पात्र छे - एउटी छापामार। पहिले त ऊ दुःख पाएकी एक सामान्य गाउँले केटी हुन्छे। अल्लारे उमेरमा साथीहरूको लहैलहैमा लागेर ऊ छापामार भएकी हुन्छे। उसलाई के कुरो ठिक र के बेठिक भन्ने भन्दा पनि नेताका मिठा कुराहरू, भीडमा बस्दाको सधैंको उत्सव र सुरक्षाकर्मीसँगको लुकामारीका आनन्दहरूमा रमाइलो लागिरहेको हुन्छ।

सोझी केटी हुलमुलमा बच्ने तरिका जान्दिन। एक दिन सुरक्षाकर्मीसँगको भागदौडमा सबै साथीहरू उम्कन सफल हुन्छन्, केटी पक्राउ पर्छे। जेलमा पुगेपछि युद्धको ठिक अर्को पाटोसँग उसको साक्षात्कार हुन्छ। शिविरमा सिकाइएको जस्तो सबै  सुरक्षाकर्मीहरूलाई उसले 'जल्लाद' पाउँदिन। बरु आफूलाई घृणा गर्ने त्यहीँभित्रको एउटा सैनिक युवकका चालचलनले उसलाई
प्रभावित पार्छ। केटी जिज्ञासु हुन्छे र उसको बारेमा थप जान्ने कोसिस गर्छे र युवकको पृष्ठभूमि थाहा पाउँछे। अब जेलभित्रै त्यो छापामार युवती सैनिकसँग नजिकिन थाल्छे। उनीहरू दुवैले दुवैबाट धेरै कुरा सिक्छन्। एकले अर्कालाई महसुस पनि गर्छन्।
'अन्तमा के हुन्छ? अन्तमा?' साथी देवेन्द्र उत्सुक भएर प्रश्न गर्दै थियो।

उपन्यासको पाण्डुलिपि पढिसकेका रसिकले हाँस्दै भने, 'बिहे हुन्छ। के हुनु नि?'

हिन्दी सिनेमाको आम दर्शकले जस्तो अनुमान लगाइसकेको देवेन्द्र पनि हाँस्न थाल्यो। 'हो बिहे नै हुन्छ,' तारा पनि मुस्काउन थालिन्, 'शान्ति सम्झौतापछि केटी जेलबाट छुट्छे र दुवैजनाको बिहे हुन्छ।' ताराको आफ्नै भोगाइ र उनको उपन्यासको कथा सुनिसकेपछि साथी देवेन्द्रले मिल्दोजुल्दो घटनाबारे थप जिज्ञासा पनि राखेको थियो। 'तिमीले पनि त जेलमा उदार मन भएको सैनिक भेटेकी थियौ। उपन्यास जस्तै कतै तिमीहरू पनि ...?'

जवाफमा तारा एकछिनसम्मै लजाइरहिन् र कलेजी रंगको खास्टो टोक्न थालिन्।

'त्यो सैनिकको मन देखेर प्रभावित भई पात्र बनाएकी हुँ,' उनले भनिन्, 'वास्तविक जीवनमा त जेलबाट निस्केपछि त्यो सैनिकलाई कहिल्यै भेटेकी छैन।' त्यो सैनिक अहिले कुन ठाउँमा छ र के गर्दैछ भन्ने खोजी गर्नतर्फ पनि नलागेको उनले प्रष्ट पारिन्। जेलबाट निस्केपछि तारा र माओवादीको सम्बन्ध कस्तो रह्यो? यो जिज्ञासा पनि थियो। 'निस्कनेबित्तिकै उनीहरूको सम्पर्कमा पुगेँ,' उनले भनिन्, 'त्यसपछि पूर्ववत् मलाई पार्टीको सांस्कृतिक समूहमा लागेर गाउँ-गाउँ पुग्ने जिम्मेवारी दिइयो।'
जिम्मेवारी निर्वाह गर्ने क्रममै एक दिन उनीहरू पुवाखोलामा पुगेका थिए। त्यहाँ खाना खाइवरी राति सुतेकै बेला अचानक गाउँलेहरूले घेरा हालेछन्।

'दुई-तीन वर्षअघि पार्टीले गाउलेसँग लाखौं रुपैयाँ ऋण लिएको रहेछ,' उनले भनिन्, 'त्यो नतिरेको भन्दै हामीलाई आक्रमण गरे।' गाउँलेको आक्रमण सुरु भएको केही बेरपछि प्रहरी आइपुगेका थिए। प्रहरीले घटनाका बारेमा पार्टीका साथीहरूलाई पनि जानकारी दिएको तर उनीहरूले वास्ता नगरेको बताएका थिए।  'कसले के प्रयोजनका निम्ति पैसा लिएको हो भन्ने थाहा पनि
नपाएका हामी कुटाइ खाँदै थियौंं,' उनले भनिन्, 'यो सबको जवाफदेहिता बोक्नुपर्ने साथीहरूचाहिँ हामी चुटिँदै गरेको जानकारी पाए पनि घटनास्थल आएनन् भन्ने सुन्दा साह्रै नरमाइलो अनुभव भयो।'

ताराका अनुसार त्यसपछि उनीलगायत थुप्रै साथीले पार्टीको कुनै गतिविधिमा कहिल्यै नलाग्ने अठोट गरे। संविधानसभाको चुनावमा पार्टीले बोलाएको भए पनि आफूले वास्तै नगरेको उनले सुनाइन्। 'मेरा साथीहरू कतिपयले बिहे गरे, धेरैचाहिँ अरबतिर कमाउन गएका छन्,' उनले भनिन्, 'मेरोचाहिँ जीवन आफ्नै गाउँमा पनि शरणार्थीको जस्तो बितिरहेको छ।'

यो सारा घटनाबाट ताराले सिकेको पाठ के हो?

'त्यो परिवार पाल्न सेना/प्रहरीको जागिर खाने हुन् वा हामीजस्ता तल्लो स्तरका कार्यकर्ता, जता पनि ठूलाले सानालाई प्रयोग गर्ने मात्र रहेछ,' उनले बल्ल बुझेको अन्तिम सत्य बताउँदै पछुतो व्यक्त गरिन्, 'कस्तो अन्धकारमा फसियो, कहिलेकाहीँ त उतिखेरै सेनाले मारिदिएको भए पनि कति जाती हुन्थ्यो जस्तो लाग्छ।' उनको अब एउटै सपना बाँकी रहेछ, त्यो उपन्यास जसो गरेर भए पनि छपाउने।

एक साता बित्यो ती पूर्व छापामारसँग भेटेको। जुन समूहसँग सम्बन्धितहरूका छेउमा बस्नुसमेत असम्भव ठान्थेँ। त्यस दिन अबेरसम्मै बसेर कुरा सुनिरहेको सम्झँदा पनि अनौठो लाग्न थालेको छ।




Last edited: 08-Nov-09 02:47 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters